अनुवाद नहुने अपनत्व
विदेशी भूमिमा,
उही बिहान उही साँझ।
तर समय यहाँ
मेरो भाषामा बोल्दैन।
हासो ओढेर
म फेरि अनुहार बनाउँछु,
सुक्खा आँखाले।
आजको अनुहार
यहाँका सडकले चिन्छन्,
तर
मेरो गाउँले आकाशले
पहिचान गर्दैन।
भीड यहाँ पनि छ,
तर
कसैले नाम लिएर बोलाउँदैन।
सबै हिँडिरहेका छन्,
आ–आफ्नै गन्तव्यतिर,
मचाहिँ
आफ्नै सम्झनातिर फर्किरहेछु।
काठमाडौँ सम्झिन्छु,
जाम, चिसो हावा,
चियापसलको धुवाँ,
र
अर्थ नभएका कुरामा
लामो बहस।
त्यो सहर
जति थकाइ दिने थियो,
उति नै
आफ्नो थियो।
यहाँ रात चाँडै पर्छ,
तर निद्रा ढिलो आउँछ।
भित्तामा झुण्डिएको घडी
टिक–टिक गर्छ,
र
मनले
नेपालको समय खोज्छ।
सुक्खा आँखाले बनाएको अनुहार
आज फेरि
काम, जिम्मेवारी र
अनिवार्य मुस्कानसँग साटिन्छ।
यहाँ बाँच्नु
कर्तव्य जस्तो छ,
जिउनुचाहिँ
सधैँ भोलिका लागि।
यस विदेशी भूमिमा
सबै कुरा व्यवस्थित छन्,
तर
मन अलिकति अस्तव्यस्त।
किनकि
आफ्नोपनको भाषा
यहाँ
अनुवाद हुँदैन।
जसरी बाँच्दा पनि
पूरा हुन नसकिने
यस प्रवासी क्षणभित्र,
म फेरि
भोलिका लागि
एउटा अनुहार बनाउँछु!
आफूलाई
नहराउनका लागि।
- सुदर्शन सापकोटा
29/12/25
Comments
Post a Comment