Skip to main content

Slope Stability मा Bio-Engineering किन आवश्यक छ?

Slope stability मा Bio-Engineering किन आवश्यक छ? 

हामो देश नेपालका पहाडहरू सुन्दर छन्, तर त्यही सुन्दरता हाम्रो पूर्वाधारका निर्माणका लागि सबैभन्दा ठूलो चुनौती पनि हो। भिराला जमिन, कमजोर भू–संरचना, अत्यधिक वर्षा र अव्यवस्थित मानवीय हस्तक्षेपका कारण नेपालमा पहिरो, माटो कटान र सडक अवरोध हरेक वर्ष दोहोरिने समस्या बनेको छ। सडक निर्माणसँगै हुने कटान, blasting र अनियन्त्रित cut-and-fill ले प्राकृतिक सन्तुलन बिगार्दा, धेरै सडक केही वर्षमै जोखिममा पर्छन्। यसले जनधनको क्षतिसँगै विकासको गति पनि अवरुद्ध बनाइरहेको छ।
यी समस्याको समाधानका रूपमा हामीले दशकौँदेखि कङ्क्रिट, ग्याबियन र रिटेनिङ वालमा भर पर्यौ। तत्काल देखिने यस्ता संरचनाले केही हदसम्म राहत दिए पनि, दीर्घकालमा उच्च लागत, बारम्बार मर्मत र वातावरणीय असरका कारण ती सधैँ प्रभावकारी साबित भएका छैनन्। यही सीमितताबाट जन्मिएको वैकल्पिक सोच हो Bio-engineering।

Bio-engineering भन्नाले जीवित वनस्पतिलाई वैज्ञानिक ढंगले प्रयोग गरी ढलान र माटोलाई स्थिर बनाउने विधि बुझिन्छ। यो कुनै “सजावटी” उपाय होइन, न त civil engineering को प्रतिस्थापन नै हो। बरु, यो इन्जिनियरिङ र प्रकृतिबीचको सहकार्य हो। प्रारम्भिक चरणमा आवश्यक संरचनात्मक सहयोग दिइन्छ, तर समयसँगै वनस्पतिको जरा प्रणालीले माटोको बल, आपसी बाँधिने क्षमता र कटान प्रतिरोध शक्ति बढाउँदै लैजान्छ।

विश्वका धेरै पहाडी मुलुकहरूले यो अवधारणालाई सफलतापूर्वक अपनाइसकेका छन्। नेपालजस्तै होच अग्ला पहाड र भारी वर्षा हुने Papua New Guinea (PNG) मा समेत highway र hydropower access road हरूमा bio-engineering प्रभावकारी देखिन थालेको छ। यसले नेपालको सन्दर्भमा पनि यो विधि व्यवहारिक र भरोसायोग्य रहेको प्रमाणित गर्छ।
नेपालमा bio-engineering बिल्कुल नयाँ अभ्यास होइन। Dharan–Dhankuta सडक, Krishna Bhir, Muglin–Narayanghat खण्ड, Dhangadi–Dadeldhura सडकजस्ता उदाहरणहरूले यस प्रविधिको सम्भावना देखाइसकेका छन्। तर समस्या प्रविधिको अभाव होइन, संस्थागत प्राथमिकता नहुनु हो। अझै पनि धेरै आयोजनामा bio-engineering लाई सहायक वा दोस्रो दर्जाको उपायका रूपमा मात्र हेरिन्छ, जबकि नेपालको भूगोलमा यो मुख्य रणनीति हुन सक्छ।

Bio-engineering अभ्यासमा Vetiver घाँसको भूमिका विशेष उल्लेखनीय छ। यसको गहिरो र घना जरा प्रणालीले माटोलाई मजबुत रूपमा बाँध्छ, सतही कटान घटाउँछ र shallow पहिरो रोक्न प्रभावकारी हुन्छ। चरम वर्षा, सुख्खा र कमजोर माटोमा समेत यसले राम्रोसँग अनुकूलन गर्न सक्छ। Vetiver लाई retaining wall वा gabion जस्ता संरचनासँग संयोजन गर्दा लागत घटाउनुका साथै ढलानको दीर्घकालीन स्थिरता पनि सुनिश्चित गर्न सकिन्छ।
नेपालमा सडक केवल यातायातको साधन होइन, यो आर्थिक विकास, सामाजिक पहुँच र राष्ट्रिय एकताको मेरुदण्ड हो। त्यसैले सडकसँग जोडिएका ढलानहरूलाई अस्थायी उपायले होइन, दिगो दृष्टिकोणबाट हेर्नु आवश्यक छ। Bio-engineering त्यही दृष्टिकोण हो।जहाँ कङ्क्रिट र प्रकृति एक-अर्काका प्रतिस्पर्धी होइनन्, सहयात्री बन्छन्।

अब प्रश्न प्रविधि अपनाउने कि नअपनाउने होइन, कहिले र कत्तिको गम्भीरताका साथ अपनाउने हो। यदि bio-engineering लाई सडक डिजाइन, DPR र निर्माण मापदण्डमै अनिवार्य रूपमा समावेश गर्न सकियो भने, नेपालले पहिरो नियन्त्रण मात्र होइन, दिगो पूर्वाधार विकासमा पनि दीर्घकालीन लाभ लिन सक्छ।
- सुदर्शन 
१० माघ २०८२

Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

पर बाट देशलाई हेर्दा।

परदेश बाट देशलाई हेर्दा। हाम्रो आफ्नै भुगोल छ। भाषा छ। आफ्नै धर्म छ। देवता छ्न आफ्नै। नभएको त बुझाइ मात्र हो। आफ्नै इतिहास छ। भित्तामा आफ्नै पात्रो छ। गति आफ्नै छ। नभएको त गति तिब्र मात्र हो। सन्सार हेर्नलाई सगरमाथा छ। फेर्नको लागि सफा हावा छ। अन्नको लागि तराइको फाट छ। भिमकाय पहाड छ्न, खानी छ, मुलको पानी छ  नहुनु पर्ने चाँइ हैरानी मात्र हो। आफ्नै गित छ्न संगीत छ्न। गायक छ्न गायिका छ्न। चलचित्र पनि आफ्नै छ्न। हिरो छ्न, हिरोईन छ्न। खड्किन थालेको चाइ आफ्नै कथा हो। हामी सग के छैन? हामीसग हिड्नलाई बाटो छ। पुरानो सभ्यताको पाटो छ। आफैले आर्जेको देशको माटो छ। नहुन पर्ने चाइ जात-धर्मको नाउँमा फाटो हो। हेर्ने हो भने हामी सग पहिला नै धेरै कुरा छ्न। बिधुतको लागि खोला-नदि छ्न। पर्यटनको लागि सुन्दर  प्रकृति छ। सन्तुलित हावा पानी छ। न बनाय हुने भनेको दुत्सित मात्र हो। बिद्यालय छ्न। बिश्वबिद्धालय छ्न। बिध्या पिठ छ्न। बिद्यार्थी छ्न( अहिले सम्म) खड्किएको भनेको देशलाइ चाहिने पाठ्यक्रम र पठन पाठन हो। सानो भूगोल भैकन पनि हाम्रो देश सग धेरै कुरा छ। हिमाल छ।  हिमालमा हिउँ छ( अहिले सम्म) सबै हि...

सत्यको प्रतिबिम्ब

सत्यको प्रतिबिम्ब मैले एना हेरेको छु, जैले हेरेको छु, एना उस्तै छ, स्थिर, मौन, तर म भने बदलिँदै गएको छु। कैले हाँस्ने अनुहार देख्छु आशाको फूल फुल्यो जस्तो, जीवन जितेँ जस्तो, बायुले पनि मलाई सलामी दिए जस्तो। कैले उदास नजर देख्छु हारको भारी बोकेको, नपुगेका सपनाको धुलोमा ढाकिएको, र खोसिएको क्षणहरूको खट्काले छोपिएको। एना मौन रहन्छ, तर मेरो बदलिँदो अनुहारमा उमेरका रेखाहरू कोरिन्छन्, आफ्नै कथा लेखिँदै जान्छन्। मैले एना हेरेको छु, यसले मेरा आँसु पनि देखेको छ, मेरो हाँसो पनि देखेको छ, मेरो मौनतामा लुकेका रहस्य पनि यसले नबोलेरै बुझेको छ। कसैले सम्झेन, तर एना तिमी मेरो साथी छौ, जसले न त झूट देखाउँछौ। न त ढाँट्छौ। न त अरूले जस्तो आश्वासन दिन्छौ। तिमीले आजको म देखाउँछौ, समयको छाप सहित। न भविष्य, न भूत, जस्तो उभिएको छु, त्यस्तै प्रष्ट देखाउँछौ। तर कहिलेकाहीँ लाग्छ, एना बाहिरको अनुहार मात्र देखाउँछ, भित्रको आत्मा भने अझै मौन छ। भित्रका ज्वालाहरू, भित्रका शून्यता, भित्रका अपूर्णताहरू, तिमीले नदेखाएको जस्तो लाग्छ। यतिबेला सोच्छु, यदि एना भित्र घुस्न सकेँ भने, शायद मलाई मेरो वास्तविक स्वरूप भेटिन्छ, शा...