Skip to main content

Posts

Showing posts from March 15, 2026

बीच बाटोको मान्छे

बीच बाटोको मान्छे देशमै हुँदा देशै नराम्रो लाग्छ, सपना सबै उडेर विदेशका आकाशमा टाँसिन्छन्। “यहाँ केही छैन” भन्ने आवाज ठूलो हुन्छ, र एकदिन उही आवाज पासपोर्ट बोकेर उड्छ। तर… जब उ उडिसक्छ अर्को कथा सुरु हुन्छ। विदेशको चम्किलो बत्तीमुनि उसको छायाँ भने देशकै आँगनमा अड्किरहन्छ। “घर कहिले फर्किने?” भन्ने प्रश्न उसले अरूलाई हैन, आफ्नै मनलाई सोधिरहन्छ। देशमा हुँदा बिदेश जाने हतार, बिदेश पुगेपछि देश फर्किने व्याकुलता। बीचमा उभिएको छ एक मान्छे, जसले दुवै ठाउँमा आफूलाई हराइरहेको छ। यो होपोक्रेसी होइन भने अर्को के हो? जहाँ सपना पनि दोधारमा छन्, र आत्मा पनि। -ss

बेकार छन् ती यादहरू

बेकार छन् ती यादहरू बेकार छन् ती यादहरू, जसले रातको सन्नाटामा पुराना घाउहरू फेरि खोस्रन्छन्। तर कारक पनि तिनै हुन्, जसले सिकाउँछन्! पीडाको भित्री भाषा, र मौनताले बोल्ने सत्य। बुझ्नलाई बाटाहरू कहिल्यै सिधा हुँदैनन्। कतै काँडै काँडाले भरिएका, कतै कुहिरोले ढाकिएका। तर खोज्नलाई पखेटाहरू मानिसको मनमै उम्रन्छन्, आशाका, विद्रोहका, र फेरि उठ्ने साहसका। मान्छेको त के कुरा, यहाँ त मनकै सिकार गर्न तडपिरहेका छन् ब्याधाहरू, लोभका, भयका, अभाव र भ्रमका। ती अदृश्य शिकारीहरू कहिले सपनामा पस्छन्, कहिले सम्बन्धमै जाल थाप्छन्। तर एउटा सत्य अझै बाँकी छ। मन यदि अझै जिउँदो छ भने पखेटा फेरि पलाउँछन्। कुहिरो चिरेर बाटाहरू फेरि देखिन्छन्। किनकि बेकार लाग्ने ती यादहरू नै कहिलेकाहीँ जीवनको गहिरो पाठ बनेर हामीलाई आफ्नै आकाश खोज्न सिकाउँछन्।