बेकार छन् ती यादहरू
बेकार छन् ती यादहरू,
जसले रातको सन्नाटामा
पुराना घाउहरू फेरि खोस्रन्छन्।
तर कारक पनि तिनै हुन्,
जसले सिकाउँछन्!
पीडाको भित्री भाषा,
र मौनताले बोल्ने सत्य।
बुझ्नलाई बाटाहरू
कहिल्यै सिधा हुँदैनन्।
कतै काँडै काँडाले भरिएका,
कतै कुहिरोले ढाकिएका।
तर खोज्नलाई पखेटाहरू
मानिसको मनमै उम्रन्छन्,
आशाका, विद्रोहका,
र फेरि उठ्ने साहसका।
मान्छेको त के कुरा,
यहाँ त मनकै सिकार गर्न
तडपिरहेका छन् ब्याधाहरू,
लोभका, भयका,
अभाव र भ्रमका।
ती अदृश्य शिकारीहरू
कहिले सपनामा पस्छन्,
कहिले सम्बन्धमै जाल थाप्छन्।
तर एउटा सत्य अझै बाँकी छ।
मन यदि अझै जिउँदो छ भने
पखेटा फेरि पलाउँछन्।
कुहिरो चिरेर
बाटाहरू फेरि देखिन्छन्।
किनकि
बेकार लाग्ने ती यादहरू नै
कहिलेकाहीँ
जीवनको गहिरो पाठ बनेर
हामीलाई
आफ्नै आकाश खोज्न सिकाउँछन्।
Comments
Post a Comment