समय, भ्रम र आशा न लोभ छ, न हतार छ! तैपनि यो संसार अदृश्य दौडमा थाक्दै दौडिरहेछ। पृथ्वी शान्त छ, आफ्नै धुरीमा घुमिरहेकी, मानौँ उसलाई हाम्रो बेचैनीसँग कुनै सरोकार नै छैन। सूर्य आफ्नै उज्यालोमा निःशब्द जलिरहेछ, दिनहरू जन्माइरहेछ, र फेरि साँझको हातमा बुझाइरहेछ। समय, नदी जस्तो होइन, समुन्द्र जस्तो पनि होइन। यो त एउटा अनन्त यात्रा हो जहाँ सबै यात्रुहरू बदलिन्छन्, तर बाटो कहिल्यै सकिँदैन। सबै कुरा सकिन्छ! शहरहरू, सभ्यताहरू, नाम र इतिहास पनि। तर नसकिने त सायद समय मात्र हो। र सबै कुरा टुटेपछि पनि मानिसको मुटुभित्र अझै बाँकी रहने एउटा सानो स्पन्दन हुन्छ! त्यो हो आशा। हामी भने यो विशाल ब्रह्माण्डको बीचमा साना सपना बोकेर हिँडिरहेका यात्री मात्र हौँ। कहिले सत्यलाई आफ्नै चाहनाले ढाक्छौँ, कहिले भ्रमलाई सत्य ठानेर पूजा गर्छौँ। यसरी हामी आफैँ भुलिरहेका छौँ, र एकअर्कालाई पनि भ्रमकै कथा सुनाएर भुलाइरहेका छौँ। तर समयको निःशब्द साक्षीभित्र एउटा कुरा स्पष्ट छ! भ्रमहरू बद्लिन्छन्, मानिसहरू हराउँछन्, तर मानिसको हृदयमा सधैँ बाँचिरहने एउटा सानो उज्यालो हुन्छ, आशा। - सुदर्शन
I am waiting for you....you are welcome to my blog.