Skip to main content

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ


जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ

नेपाल अहिले तीव्र पूर्वाधार विकासको चरणमा प्रवेश गरेको छ। देशभरि राजमार्ग विस्तार, सुरुङ मार्ग निर्माण, जलविद्युत् आयोजना, र ठूला बाँधहरू निर्माण भइरहेका छन्। नागढुंगा–नौबिसे सुरुङदेखि लिएर विभिन्न हाइड्रोपावरका हेडरेस टनेलहरू, पहाडी सडक विस्तार, र नदी नियन्त्रणका कामहरूले विकासको नयाँ गति देखाइरहेका छन्। यति मात्र होइन, नेपालका विश्वविद्यालयहरूमा Engineering Geology जस्तो विशिष्ट विषयको अध्ययनसमेत सुरु भइसकेको छ, जसले भूगर्भ र इन्जिनियरिङबीचको सम्बन्धलाई शैक्षिक रूपमा मजबुत बनाउने प्रयास गरेको छ। तर यति सकारात्मक प्रगति हुँदाहुँदै पनि एउटा मूल प्रश्न अझै उस्तै छ, भूगर्भविद्हरू किन अझै परियोजनाको नेतृत्वमा देखिँदैनन्?

नेपालको भौगोलिक बनावट विश्वमै सबैभन्दा जटिलमध्ये एक मानिन्छ। हिमालय क्षेत्रको सक्रिय टेक्टोनिक गतिविधि, कमजोर चट्टान संरचना, उच्च वर्षा, र तीव्र ढलानले यहाँको भूगर्भलाई अत्यन्त संवेदनशील बनाएको छ। यही कारणले गर्दा यहाँका इन्जिनियरिङ परियोजनाहरू केवल डिजाइनको विषय मात्र होइन, भूगर्भीय जोखिमसँग प्रत्यक्ष जुध्ने प्रक्रिया पनि हुन्। सुरुङ निर्माणमा geological फल्ट जोन, squeezing ground, र rock burst जस्ता समस्या देखिन्छन् भने पहाडी सडकहरूमा निरन्तर भू-स्खलनको खतरा रहन्छ। जलविद्युत् आयोजनाहरूमा पनि चट्टानको गुणस्तर, माटोको ईन्जिनियरिङ characteristic, groundwater and pore water pressure , र erosion जस्ता कारकहरूले संरचनाको स्थायित्व निर्धारण गर्छन्। यसले स्पष्ट देखाउँछ कि नेपालमा इन्जिनियरिङको सफलता भूगर्भीय बुझाइसँग गहिरो रूपमा जोडिएको छ।
यद्यपि, व्यवहारमा हेर्दा भूगर्भविद्हरूको भूमिका अझै पनि सहायक स्तरमै सीमित देखिन्छ। उनीहरूले साइट अनुसन्धान गर्छन्, चट्टान र माटोको गुणस्तर विश्लेषण गर्छन्, र जोखिम पहिचान गर्छन्। तर अन्तिम निर्णय, डिजाइन, र परियोजना नेतृत्व सिभिल इन्जिनियरहरूकै हातमा रहन्छ। यसको प्रमुख कारण कानुनी र संस्थागत संरचना हो, जहाँ डिजाइन स्वीकृति र जिम्मेवारी प्रायः इन्जिनियरहरूलाई मात्र दिइन्छ। यसले भूगर्भविद्हरूलाई निर्णय प्रक्रियाबाट टाढा राख्ने काम गर्छ, चाहे उनीहरूको इनपुट कति नै महत्वपूर्ण किन नहोस्।

अर्को महत्वपूर्ण कारण अध्ययन र व्यवहारबीचको अन्तर हो। नेपालमा Engineering Geology पढाइ भइरहे पनि, धेरैजसो शिक्षण प्रणाली अझै सैद्धान्तिक र रिपोर्टमा केन्द्रित छ। फिल्डमा भने तुरुन्त निर्णय लिन सक्ने क्षमता, डिजाइनसँग जोडिएको सोच, र बहु-विषयगत समन्वय आवश्यक पर्छ। यस अन्तरका कारण भूगर्भविद्हरूलाई “data provider” को रूपमा मात्र हेर्ने प्रवृत्ति विकास भएको छ, “decision maker” को रूपमा होइन।

यसैसँग सम्बन्धित अर्को समस्या भनेको परियोजनामा भूगर्भविद्हरूको ढिलो संलग्नता हो। धेरैजसो अवस्थामा पहिले नै रोड alignment, टनेल route, वा dam site तय भइसकेपछि मात्र विस्तृत भूगर्भीय अध्ययन गरिन्छ। यसले गर्दा भूगर्भविद्हरूको भूमिका सुधार गर्नेभन्दा समस्या व्याख्या गर्नेमा सीमित हुन्छ। जबकि यथार्थमा, alignment चयनदेखि नै भूगर्भीय नेतृत्व आवश्यक हुन्छ। प्रारम्भिक चरणमै सही निर्णय लिइएको भए धेरै लागत र समय बचाउन सकिन्छ।
नेपालका विभिन्न परियोजनाहरूले यस कुरालाई प्रमाणित गरिसकेका छन्। सुरुङमा अप्रत्याशित deformation, support system mismatch, र बारम्बार design परिवर्तनले लागत बढ्ने र समय ढिलो हुने समस्या देखिएको छ। पहाडी सडकहरूमा हरेक वर्ष हुने भू-स्खलनले देखाउँछ कि भूगर्भीय जोखिमलाई पर्याप्त रूपमा समेटिएको छैन। यस्ता उदाहरणहरूले स्पष्ट पार्छन् कि भूगर्भविद्हरूको भूमिका केवल सहायक नभई रणनीतिक हुनुपर्छ।

अब समाधानतर्फ हेर्दा, सबैभन्दा पहिलो आवश्यकता विश्वविद्यालयको पाठ्यक्रम सुधार हो। Engineering Geology पढाइलाई अझ व्यवहारिक र बहु-विषयगत बनाउन आवश्यक छ। भूगर्भशास्त्रका विद्यार्थीहरूलाई geotechnical design, tunnel engineering, rock mechanics, र numerical modeling जस्ता विषयहरू गहिरो रूपमा पढाइनुपर्छ। यससँगै project management, cost estimation, र contract system जस्ता विषयहरू पनि अनिवार्य रूपमा समावेश गर्नुपर्छ, जसले उनीहरूलाई नेतृत्व भूमिकाका लागि तयार बनाउँछ।

यसका साथै, सिभिल इन्जिनियरिङ र भूगर्भशास्त्रका विद्यार्थीहरूलाई एउटै परियोजनामा काम गराउने अभ्यास सुरु गर्नुपर्छ। संयुक्त फिल्ड अध्ययन र समस्या समाधान अभ्यासले दुवै पक्षबीचको दूरी घटाउँछ र भविष्यमा राम्रो सहकार्यको आधार तयार गर्छ। यसले पेशागत सम्मान र समझदारी दुवै बढाउँछ।
नीतिगत तहमा पनि सुधार आवश्यक छ। ठूला पूर्वाधार परियोजनाहरूमा Engineering Geologist को अनिवार्य सहभागिता मात्र होइन, केही अवस्थामा नेतृत्व भूमिका पनि सुनिश्चित गरिनुपर्छ। geological risk assessment लाई कानुनी रूपमा बाध्यकारी बनाइयो भने निर्णय प्रक्रियामा भूगर्भविद्हरूको प्रभाव स्वतः बढ्नेछ।

नेपाल जस्तो भौगोलिक रूपमा संवेदनशील देशमा विकासको सफलता केवल राम्रो डिजाइनमा होइन, सही भूगर्भीय बुझाइमा निर्भर हुन्छ। Engineering Geology को अध्ययन सुरु हुनु महत्वपूर्ण उपलब्धि हो, तर अब त्यसलाई व्यवहार र नेतृत्वमा रूपान्तरण गर्ने समय आएको छ। भूगर्भविद्हरूलाई केवल रिपोर्ट तयार गर्ने होइन, निर्णयको केन्द्रमा ल्याउने हो भने मात्र दिगो र सुरक्षित पूर्वाधार विकास सम्भव हुनेछ।

- सुदर्शन सापकोटा 
२२ चैत २०८२

Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

Slope Stability मा Bio-Engineering किन आवश्यक छ?

Slope stability मा Bio-Engineering किन आवश्यक छ?  हामो देश नेपालका पहाडहरू सुन्दर छन्, तर त्यही सुन्दरता हाम्रो पूर्वाधारका निर्माणका लागि सबैभन्दा ठूलो चुनौती पनि हो। भिराला जमिन, कमजोर भू–संरचना, अत्यधिक वर्षा र अव्यवस्थित मानवीय हस्तक्षेपका कारण नेपालमा पहिरो, माटो कटान र सडक अवरोध हरेक वर्ष दोहोरिने समस्या बनेको छ। सडक निर्माणसँगै हुने कटान, blasting र अनियन्त्रित cut-and-fill ले प्राकृतिक सन्तुलन बिगार्दा, धेरै सडक केही वर्षमै जोखिममा पर्छन्। यसले जनधनको क्षतिसँगै विकासको गति पनि अवरुद्ध बनाइरहेको छ। यी समस्याको समाधानका रूपमा हामीले दशकौँदेखि कङ्क्रिट, ग्याबियन र रिटेनिङ वालमा भर पर्यौ। तत्काल देखिने यस्ता संरचनाले केही हदसम्म राहत दिए पनि, दीर्घकालमा उच्च लागत, बारम्बार मर्मत र वातावरणीय असरका कारण ती सधैँ प्रभावकारी साबित भएका छैनन्। यही सीमितताबाट जन्मिएको वैकल्पिक सोच हो Bio-engineering। Bio-engineering भन्नाले जीवित वनस्पतिलाई वैज्ञानिक ढंगले प्रयोग गरी ढलान र माटोलाई स्थिर बनाउने विधि बुझिन्छ। यो कुनै “सजावटी” उपाय होइन, न त civil engineering को प्रतिस्थापन नै हो। बरु, ...