सुरु र अन्त्यको बिच! जब मभित्र चेतनाको उज्यालो पलाउन थाल्यो, मैले मान्छेको अर्थ खोज्न थालेँ, बाहिर होइन, आफ्नै भित्र। बुद्ध जस्तै हुन त सकिनँ, तर सारमा म पनि त्यही यात्रामा छु! जुन यात्रामा बुद्ध आजभन्दा पच्चीस सय वर्ष अघि निस्किएका थिए। हो, साँच्चै कहिलेकाहीँ अचम्म लाग्छ। संसारमा हरेक दिन लाखौँ मान्छे जन्मिन्छन्, लाखौँ मान्छे हराउँछन्। म पनि कहिले त्यही “एक नम्बर” थिएँ, र एक दिन त्यही “एक नम्बर” नै हुनेछु। स्वीकार गरौँ वा अस्वीकार हामी सबै त्यही एक हौं। जन्म, खासमा, मरणतर्फको यात्रा हो। तर यो निराशाको कथा होइन। किनकि हाम्रो सम्पूर्ण ज्ञान सुरु र अन्त्यको त्यही साँघुरो अन्तरालमा रुमलिएको छ। न सुरु हाम्रो वशमा छ, न अन्त्य नै। तर यही बिचमा हामी खोजीले तिर्खाउँछौँ। केही नभए पनि हाम्रो चञ्चल मनलाई भुलाउनैपर्छ सबैलाई। मनलाई कसरी, कहाँ, केमा लगाउँछौँ, त्यहीँ हाम्रो दुःख र सुख गोप्य रूपमा बसिरहेको हुन्छ। खोज पनि अन्ततः सुखकै हो। हामी अनुभूति खोज्छौँ, शान्तिको, खुसीको, र परोपकारको। पैसा होइन मेरो सारको खोज। पैसा त समाजले टाँसेको एउटा महत्त्व मात्र हो। यदि हामीले मनलाई महत्त्व दिन सक्यौँ भने, प...