सुरु र अन्त्यको बिच!
जब मभित्र चेतनाको उज्यालो पलाउन थाल्यो,
मैले मान्छेको अर्थ खोज्न थालेँ,
बाहिर होइन, आफ्नै भित्र।
बुद्ध जस्तै हुन त सकिनँ,
तर सारमा म पनि
त्यही यात्रामा छु!
जुन यात्रामा बुद्ध
आजभन्दा पच्चीस सय वर्ष अघि
निस्किएका थिए।
हो, साँच्चै
कहिलेकाहीँ अचम्म लाग्छ।
संसारमा हरेक दिन
लाखौँ मान्छे जन्मिन्छन्,
लाखौँ मान्छे हराउँछन्।
म पनि कहिले
त्यही “एक नम्बर” थिएँ,
र एक दिन
त्यही “एक नम्बर” नै हुनेछु।
स्वीकार गरौँ वा अस्वीकार
हामी सबै
त्यही एक हौं।
जन्म, खासमा,
मरणतर्फको यात्रा हो।
तर यो निराशाको कथा होइन।
किनकि
हाम्रो सम्पूर्ण ज्ञान
सुरु र अन्त्यको
त्यही साँघुरो अन्तरालमा
रुमलिएको छ।
न सुरु हाम्रो वशमा छ,
न अन्त्य नै।
तर यही बिचमा
हामी खोजीले तिर्खाउँछौँ।
केही नभए पनि
हाम्रो चञ्चल मनलाई
भुलाउनैपर्छ
सबैलाई।
मनलाई
कसरी, कहाँ,
केमा लगाउँछौँ,
त्यहीँ
हाम्रो दुःख र सुख
गोप्य रूपमा बसिरहेको हुन्छ।
खोज पनि
अन्ततः सुखकै हो।
हामी अनुभूति खोज्छौँ,
शान्तिको,
खुसीको,
र परोपकारको।
पैसा होइन
मेरो सारको खोज।
पैसा त
समाजले टाँसेको
एउटा महत्त्व मात्र हो।
यदि हामीले
मनलाई महत्त्व दिन सक्यौँ भने,
पैसा,
खासै केही होइन।
- सुदर्शन
Comments
Post a Comment