म मजदुर!
म एउटा मजदुर हुँ।
आफ्नो पसिनाको कमाइले पेट पालेको छु।
आफ्नो मात्र होइन परिवारको पेट मेरो पसिनाले भिजेको छ।
मेरो कुनै ठुलो सपना छैन।
सानो झुप्रो छ। ठुलो त आकाश छ।
कहिले कहीँ मेरै धुरी बाट मलाई नै त्यही आकाश चियाइ रहेको देख्छु।
हावा पानी मलाइ थाहा नदिईकन मेरो बिच्छेउना सम्म आइपुग्छन्।
यस्तै छ मेरो हाल।
आफ्नै गतिमा छ जिन्दगीको चाल।
कोरोना आयो अहिले थाप्लोले आराम पाएको छ।
तर के गर्नु यो पेटले आराम खोज्दो रहेनछ।
मलाई अहिले आफ्नै पेटले दुःख दिएको छ।
लकडाउन छ भनेको बुझ्दैन रहिछ।
होइन! एउटा कुरा मलाई बुझ्न नमलाएको।
हाम्रो सरकारको पेट हुँदैन हो?!
सधैँ लकडाउन बढाउने कुरा मात्र गर्छ।
कसरी पाल्छन् हो तिनीहरू पेट।
माया पो लाग्छ कहिलेकाहीँ आफ्नै पीडा भुलेर।
आफूलाई काम गर्न नपाएर कस्तो गाह्रो भएको छ।
खान पाए पो पेट बलियो हुन्छ अनि कोरोना सँग लड्न सकिन्छ।
थुनेर होला त?
म त कुरै बुझ्दिन भन्या।
कि सबैको पेट जिम्मा लिएर लकडाउन गर्न पर्छ ।
होइन भने, खोल्न पर्यो।
काम गरेर खान त पाउन पर्यो नि।
अब रोगले मर्ने कि भोकले ?
रोगलाई छेक्न नसके नि भोकलाई त सकिन्छ नि।
२०७७-०५-२२
Comments
Post a Comment