सत्यको प्रतिबिम्ब
मैले एना हेरेको छु,
जैले हेरेको छु,
एना उस्तै छ, स्थिर, मौन,
तर म भने बदलिँदै गएको छु।
कैले हाँस्ने अनुहार देख्छु
आशाको फूल फुल्यो जस्तो,
जीवन जितेँ जस्तो,
बायुले पनि मलाई सलामी दिए जस्तो।
कैले उदास नजर देख्छु
हारको भारी बोकेको,
नपुगेका सपनाको धुलोमा ढाकिएको,
र खोसिएको क्षणहरूको खट्काले छोपिएको।
एना मौन रहन्छ,
तर मेरो बदलिँदो अनुहारमा
उमेरका रेखाहरू कोरिन्छन्,
आफ्नै कथा लेखिँदै जान्छन्।
मैले एना हेरेको छु,
यसले मेरा आँसु पनि देखेको छ,
मेरो हाँसो पनि देखेको छ,
मेरो मौनतामा लुकेका रहस्य पनि
यसले नबोलेरै बुझेको छ।
कसैले सम्झेन, तर एना तिमी मेरो साथी छौ,
जसले न त झूट देखाउँछौ।
न त ढाँट्छौ।
न त अरूले जस्तो आश्वासन दिन्छौ।
तिमीले आजको म देखाउँछौ,
समयको छाप सहित।
न भविष्य, न भूत,
जस्तो उभिएको छु,
त्यस्तै प्रष्ट देखाउँछौ।
तर कहिलेकाहीँ लाग्छ,
एना बाहिरको अनुहार मात्र देखाउँछ,
भित्रको आत्मा भने अझै मौन छ।
भित्रका ज्वालाहरू,
भित्रका शून्यता,
भित्रका अपूर्णताहरू,
तिमीले नदेखाएको जस्तो लाग्छ।
यतिबेला सोच्छु,
यदि एना भित्र घुस्न सकेँ भने,
शायद मलाई मेरो वास्तविक स्वरूप भेटिन्छ,
शायद एना भन्दा गहिरो सत्य भेटिन्छ।
मैले एना हेरेको छु,
अनि आफैँसँग प्रश्न गरेको छु!
म किन बदलिँदै छु?
समय बदलिएको हो,
कि मेरो मन?
कि मेरो सपना?
एना!
तिमी मौन छौ,
तर तिमीले मलाई सिकायौ!
जीवनको साँचो प्रतिबिम्ब
एना भित्र होइन,
समय भित्र छ।
सोच भित्र छ।
आत्मा भित्र छ।
- सुदर्शन सापकोटा
२०८२-०५-०९
Comments
Post a Comment