दिक्क लाग्दो सहर
दिक्क लाग्दो सहर,
उही बिहान, उही साँझ,
उही बाटोमा हिँड्दै
उही जाममा अड्किएका
लस्करै सवारी,
धुवाँ र हर्नको आवाजले
दिनको सुरुवात हुन्छ।
मान्छेको भीड छ यहाँ,
तर कोही कसैसँग छैन।
आफ्नै सोचमा हराएका अनुहार,
आफ्नै पीडामा मौन हिँडाइ।
हिजो देखेको अनुहार आज पनि उस्तै,
आज देखेको अनुहार भोलि पनि उस्तै।
भिड त उस्तै छ,
तर हरेक दिन
अनुहार नुहाएका जस्ता छैनन्।
त्यही भिडभित्र
म र तिमी पनि थियौँ,
एउटै बाटोमा
एउटै समय बाँच्दै।
हाम्रो हाँसो पनि
यो भिडमै हरायो,
हाम्रो मौन पनि
यसै सडकले बोक्यो।
भिडमै भएर पनि
पाइला फरक–फरक छन्,
कसैको हतार छ,
कसैको बाध्यता।
कसैलाई घर पुग्न छिटो छ,
कसैलाई घर फर्किन डर छ।
समय उही बगिरहेको छ,
घडी उही घुमिरहेको छ,
तर गन्तव्य फरक छन् सबैका।
कसैको सपना अगाडि छ,
कसैको पछाडि छुटिसकेको।
यो सहर चम्किन्छ रातमा,
बत्तीहरू झिलिमिली,
सडक तड्क–भडकले सजिएको।
तर मनहरू अँध्यारै छन्,
आँखाभित्र थकान,
छातीभित्र अनगिन्ती प्रश्न।
यति धेरै मान्छे भएर पनि
किन एक्लोपन लाग्छ?
यति धेरै बाटो भएर पनि
किन गन्तव्य टाढा लाग्छ?
सायद
दिक्क लाग्दो सहर
सडकले होइन,
भीडले होइन,
सवारीको लहरले होइन
हाम्रो थाकेको मनले बनाएको हो।
तर पनि
भोलि बिहान
फेरि उही बाटो,
फेरि उही जाम,
फेरि उही भीड।
र हामी
फेरि यही सहरमा
आफ्नै उत्तर खोज्दै
हिँडिरहन्छौँ।
- सुदर्शन (2015 AD)
Comments
Post a Comment