अस्तित्वको प्रश्न : वर्तमानमा हराइरहेको मान्छे
अस्तित्व मानव चेतनाको सबैभन्दा पुरानो र गहिरो प्रश्न हो। आजको समाजमा हेर्दा हरेक मान्छे कुनै न कुनै रूपमा आफ्नो अस्तित्व खोजिरहेको देखिन्छ। कोही भविष्यमा अर्थ खोज्छ, कोही इतिहासमा पहिचान खोज्छ। तर अचम्म के छ भने, हामी अस्तित्व खोज्दै जाँदा आफ्नै वर्तमानलाई बिर्सिरहेका छौँ। हिजो आजकै कारण थियो र आज भोलिको आधार हो भन्ने कुरा बुझ्दाबुझ्दै पनि, हामी आजलाई बाँच्न भन्दा भोलिलाई कल्पना गर्नमै अल्झिन्छौँ।
हामी इतिहासको चर्चा गर्छौँ, त्यसलाई गौरव वा पीडाको रूपमा बोकेर हिँड्छौँ। तर इतिहास आफैँमा कुनै स्वतन्त्र वस्तु होइन, यो वर्तमानमा सम्झिएको अतीत मात्र हो। यदि कसैले सम्झेन भने इतिहास पनि मौन हुन्छ। त्यसैगरी, भविष्य पनि कुनै निश्चित वास्तविकता होइन; यो आजका चाहना, डर र आशाबाट बनेको कल्पना हो। यस अर्थमा, इतिहास र भविष्य दुवै वर्तमानमै अस्तित्वमा छन्। तर विडम्बना यही हो कि हामी नदेखिएको इतिहास र नआएको भविष्यमा विश्वास गर्छौँ, तर देखिरहेको वर्तमानलाई स्वीकार गर्न गाह्रो मान्छौँ। समयको अवधारणाले पनि अस्तित्वको प्रश्नलाई अझ जटिल बनाउँछ। के समय इतिहास हो, वर्तमान हो, कि भविष्य? गहिरो रूपमा हेर्दा, समय वर्तमानबाहेक केही होइन। हिजो स्मृति हो र भोलि कल्पना हो। अस्तित्व भनेको यही क्षणमा अनुभूत हुने सत्य हो। तर मान्छे अरूको नजर, स्वीकृति र सम्झनामा आफ्नो अस्तित्व खोज्छ। मरेपछि कसैले सम्झियो भने मात्र अस्तित्व बाँकी रहने हो भन्ने भ्रमले बाँचिरहेको मान्छेलाई पनि असन्तुष्ट बनाइरहेको छ। भगवानको अवधारणा पनि अस्तित्वकै प्रश्नसँग गाँसिएको छ। भनिन्छ, भगवानले मान्छे बनाए। तर यदि मान्छेले भगवानलाई नसोचेको भए, नडराएको भए, आशा नराखेको भए, के भगवानको अस्तित्व आजको जस्तो अर्थमा हुन्थ्यो? सम्भवतः भगवान पनि मान्छेको अस्तित्वगत प्रश्नको एउटा उत्तर खोज्ने प्रयास हुन्। धर्म, देश, विचार र राजनीति जस्ता संरचनाहरू पनि मान्छेले आफ्नो “म छु” भन्ने अनुभूति सुरक्षित राख्न बनाएका आधारहरू हुन्।
अन्ततः प्रश्न यही हो! यदि समाजले दिएका सबै पहिचान हटाइदिने हो भने, मान्छेले आफ्नो अस्तित्व भेट्छ कि भेट्दैन? सायद त्यही खालीपनमा अस्तित्वको साँचो अर्थ लुकेको छ। अस्तित्व अरूले देखिदिनु वा स्वीकारिदिनु होइन। यो आफूले आफूलाई स्वीकार गर्नु हो। “म छु” भन्ने अनुभूति नै पर्याप्त हुँदा, न इतिहासको भार चाहिन्छ, न भविष्यको डर। अस्तित्व कुनै प्रमाण होइन, यो वर्तमानमा शान्त रूपमा बाँचिरहन सक्नु हो।
- सुदर्शन
७/०९/२०८२
Comments
Post a Comment