Skip to main content

अस्तित्वको प्रश्न : वर्तमानमा हराइरहेको मान्छे

अस्तित्वको प्रश्न : वर्तमानमा हराइरहेको मान्छे

अस्तित्व मानव चेतनाको सबैभन्दा पुरानो र गहिरो प्रश्न हो। आजको समाजमा हेर्दा हरेक मान्छे कुनै न कुनै रूपमा आफ्नो अस्तित्व खोजिरहेको देखिन्छ। कोही भविष्यमा अर्थ खोज्छ, कोही इतिहासमा पहिचान खोज्छ। तर अचम्म के छ भने, हामी अस्तित्व खोज्दै जाँदा आफ्नै वर्तमानलाई बिर्सिरहेका छौँ। हिजो आजकै कारण थियो र आज भोलिको आधार हो भन्ने कुरा बुझ्दाबुझ्दै पनि, हामी आजलाई बाँच्न भन्दा भोलिलाई कल्पना गर्नमै अल्झिन्छौँ।

हामी इतिहासको चर्चा गर्छौँ, त्यसलाई गौरव वा पीडाको रूपमा बोकेर हिँड्छौँ। तर इतिहास आफैँमा कुनै स्वतन्त्र वस्तु होइन, यो वर्तमानमा सम्झिएको अतीत मात्र हो। यदि कसैले सम्झेन भने इतिहास पनि मौन हुन्छ। त्यसैगरी, भविष्य पनि कुनै निश्चित वास्तविकता होइन; यो आजका चाहना, डर र आशाबाट बनेको कल्पना हो। यस अर्थमा, इतिहास र भविष्य दुवै वर्तमानमै अस्तित्वमा छन्। तर विडम्बना यही हो कि हामी नदेखिएको इतिहास र नआएको भविष्यमा विश्वास गर्छौँ, तर देखिरहेको वर्तमानलाई स्वीकार गर्न गाह्रो मान्छौँ। समयको अवधारणाले पनि अस्तित्वको प्रश्नलाई अझ जटिल बनाउँछ। के समय इतिहास हो, वर्तमान हो, कि भविष्य? गहिरो रूपमा हेर्दा, समय वर्तमानबाहेक केही होइन। हिजो स्मृति हो र भोलि कल्पना हो। अस्तित्व भनेको यही क्षणमा अनुभूत हुने सत्य हो। तर मान्छे अरूको नजर, स्वीकृति र सम्झनामा आफ्नो अस्तित्व खोज्छ। मरेपछि कसैले सम्झियो भने मात्र अस्तित्व बाँकी रहने हो भन्ने भ्रमले बाँचिरहेको मान्छेलाई पनि असन्तुष्ट बनाइरहेको छ। भगवानको अवधारणा पनि अस्तित्वकै प्रश्नसँग गाँसिएको छ। भनिन्छ, भगवानले मान्छे बनाए। तर यदि मान्छेले भगवानलाई नसोचेको भए, नडराएको भए, आशा नराखेको भए, के भगवानको अस्तित्व आजको जस्तो अर्थमा हुन्थ्यो? सम्भवतः भगवान पनि मान्छेको अस्तित्वगत प्रश्नको एउटा उत्तर खोज्ने प्रयास हुन्। धर्म, देश, विचार र राजनीति जस्ता संरचनाहरू पनि मान्छेले आफ्नो “म छु” भन्ने अनुभूति सुरक्षित राख्न बनाएका आधारहरू हुन्।

अन्ततः प्रश्न यही हो! यदि समाजले दिएका सबै पहिचान हटाइदिने हो भने, मान्छेले आफ्नो अस्तित्व भेट्छ कि भेट्दैन? सायद त्यही खालीपनमा अस्तित्वको साँचो अर्थ लुकेको छ। अस्तित्व अरूले देखिदिनु वा स्वीकारिदिनु होइन। यो आफूले आफूलाई स्वीकार गर्नु हो। “म छु” भन्ने अनुभूति नै पर्याप्त हुँदा, न इतिहासको भार चाहिन्छ, न भविष्यको डर। अस्तित्व कुनै प्रमाण होइन, यो वर्तमानमा शान्त रूपमा बाँचिरहन सक्नु हो।

- सुदर्शन 
७/०९/२०८२

Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ नेपाल अहिले तीव्र पूर्वाधार विकासको चरणमा प्रवेश गरेको छ। देशभरि राजमार्ग विस्तार, सुरुङ मार्ग निर्माण, जलविद्युत् आयोजना, र ठूला बाँधहरू निर्माण भइरहेका छन्। नागढुंगा–नौबिसे सुरुङदेखि लिएर विभिन्न हाइड्रोपावरका हेडरेस टनेलहरू, पहाडी सडक विस्तार, र नदी नियन्त्रणका कामहरूले विकासको नयाँ गति देखाइरहेका छन्। यति मात्र होइन, नेपालका विश्वविद्यालयहरूमा Engineering Geology जस्तो विशिष्ट विषयको अध्ययनसमेत सुरु भइसकेको छ, जसले भूगर्भ र इन्जिनियरिङबीचको सम्बन्धलाई शैक्षिक रूपमा मजबुत बनाउने प्रयास गरेको छ। तर यति सकारात्मक प्रगति हुँदाहुँदै पनि एउटा मूल प्रश्न अझै उस्तै छ, भूगर्भविद्हरू किन अझै परियोजनाको नेतृत्वमा देखिँदैनन्? नेपालको भौगोलिक बनावट विश्वमै सबैभन्दा जटिलमध्ये एक मानिन्छ। हिमालय क्षेत्रको सक्रिय टेक्टोनिक गतिविधि, कमजोर चट्टान संरचना, उच्च वर्षा, र तीव्र ढलानले यहाँको भूगर्भलाई अत्यन्त संवेदनशील बनाएको छ। यही कारणले गर्दा यहाँका इन्जिनियरिङ परियोजनाहरू केवल डिजाइनको विषय मात्र होइन, भूगर्भीय जोखिमसँग प्रत्यक्ष जुध्ने प...

Slope Stability मा Bio-Engineering किन आवश्यक छ?

Slope stability मा Bio-Engineering किन आवश्यक छ?  हामो देश नेपालका पहाडहरू सुन्दर छन्, तर त्यही सुन्दरता हाम्रो पूर्वाधारका निर्माणका लागि सबैभन्दा ठूलो चुनौती पनि हो। भिराला जमिन, कमजोर भू–संरचना, अत्यधिक वर्षा र अव्यवस्थित मानवीय हस्तक्षेपका कारण नेपालमा पहिरो, माटो कटान र सडक अवरोध हरेक वर्ष दोहोरिने समस्या बनेको छ। सडक निर्माणसँगै हुने कटान, blasting र अनियन्त्रित cut-and-fill ले प्राकृतिक सन्तुलन बिगार्दा, धेरै सडक केही वर्षमै जोखिममा पर्छन्। यसले जनधनको क्षतिसँगै विकासको गति पनि अवरुद्ध बनाइरहेको छ। यी समस्याको समाधानका रूपमा हामीले दशकौँदेखि कङ्क्रिट, ग्याबियन र रिटेनिङ वालमा भर पर्यौ। तत्काल देखिने यस्ता संरचनाले केही हदसम्म राहत दिए पनि, दीर्घकालमा उच्च लागत, बारम्बार मर्मत र वातावरणीय असरका कारण ती सधैँ प्रभावकारी साबित भएका छैनन्। यही सीमितताबाट जन्मिएको वैकल्पिक सोच हो Bio-engineering। Bio-engineering भन्नाले जीवित वनस्पतिलाई वैज्ञानिक ढंगले प्रयोग गरी ढलान र माटोलाई स्थिर बनाउने विधि बुझिन्छ। यो कुनै “सजावटी” उपाय होइन, न त civil engineering को प्रतिस्थापन नै हो। बरु, ...