सेती नदीको दाहिने किनारामा अवस्थित बझाङ जिल्लाको झोता बजारबाट करिब डेढ किलोमिटर कालोपत्रे सडक उक्लिँदै माथिल्लो तटतिर लाग्दा, आँखाअगाडि अकस्मात् उभिएका पहाडहरूले राज्यको नक्साभन्दा बाहिर परेका कथाहरू सुनाउन थाल्छन्। त्यहीँबाट सुरु हुने नागबेली गोरेटो—नदीको किनारैकिनार घुम्दै, घुम्दै—पहाड चढ्छ। त्यो उकालो गोरेटो नछुटाइ दुई घण्टाजति मध्यम हिँडाइ गरियो भने, पहाडको मध्यभागमा लुकेको एउटा गाउँ भेटिन्छ—जहाँ समय रोकिएझैँ लाग्छ, जहाँ विकासले कहिल्यै पाइला टेकेको छैन।
विकास र सुविधाको कसीमा हेर्दा झोता बजार वरपरका बस्तीहरूभन्दा निकै अघि देखिन्छ। बिजुली बल्छ, पानी बग्छ, सडकले जोड्छ, विद्यालयले भविष्य देखाउँछ, पसलहरूले दैनिकी सजिलो बनाउँछन्। तर यही झोता बजारको छेउमै रहेको त्यो गाउँ—राज्यको आँखाबाट ओझेल परेको—आज पनि अँध्यारोमै छ। न सुरक्षित खानेपानी, न बिजुली, न सडक। शिक्षाको अवस्था कमजोर छ, सरसफाइको चेतना न्यून छ। गाउँ पुग्ने गोरेटो बाटो आफैँ धराप बनेको छ—मान्छेभन्दा पहिले आशा लड्छ त्यहाँ।
गाउँ रित्तिँदै छ। घरहरू मौन छन्। युवाहरू सहर पसिसके, कोही भारत त कोही खाडी मुलुकतिर। बाँकी छन् बुढाबाआमा र साना नानीहरू—आफ्नै माटोमा एक्लोपन बोकेर। गरिबी झन् गहिरिँदै गएको छ, र यही गरिबीको छायामा सीमित केही हातहरू धनी हुँदै गएका छन्। पीडा साझा छ, लाभ निजी। राज्य भने मौन छ—कि त सुन्न नचाहने बहिरो बनेको छ, कि त पहुँच र सत्तामा बसेकाहरूको स्वभाव नै यस्तो छ।
यो गाउँ केवल एउटा उदाहरण मात्र हो। नेपालका राजमार्ग छेउछाउका पहाडमा बसेका अनगिन्ती पुराना गाउँहरूको नियति आज यस्तै छ—विकासको नक्सामा नाम छ, तर वास्तविकतामा अस्तित्व संकटमा। देशभक्ति नारा होइन; देशभक्ति त राज्यको अन्तिम नागरिकसम्म पुग्ने सम्वेदनशीलता हो। जबसम्म यस्ता गाउँहरूको आवाज सुन्ने साहस राज्यले गर्दैन, तबसम्म राष्ट्र निर्माणका भाषणहरू अधुरा नै रहनेछन।
- सुदर्शन
09 Feb 2022
Comments
Post a Comment