रिसको शब्द
धेरै मानिस
आफ्नै सोचको ऐनामा अडिन्छन्,
आफ्नै अनुभूतिको तराजुमा अरूलाई जोख्छन्।
जब संसार आफ्नै जस्तो देखिँदैन,
रिसको आगो चर्किन्छ
र शब्दहरू बन्छन्
बिना धारको तर बारुदले भरिएका।
रिसाएको क्षणमा
जिब्रोले जे पनि भन्छ,
सही–गलत छुट्याउने समय हुँदैन।
त्यो क्षण बित्छ,
रिस हराउँछ,
बोल्ने मान्छेले बिर्सन्छ
तर सुन्ने मन?
त्यो चुपचाप घाइते हुन्छ।
नबोली सहन्छ,
तर कहिल्यै बिर्सँदैन।
शब्दहरू त हावा होइनन्,
तिनले आत्मामा चोट दिन्छन्।
होच्याइएका साना बालमनहरू
बिस्तारै मौन बन्छन्,
आत्मविश्वासको फुल
अँध्यारोमा ओइलिन्छ।
हाम्रो समाजको यो सानो गल्ती
भोलिको ठूलो कमजोरी बन्छ।
सम्झौँ!
सबैको समय एउटै हुँदैन,
आज कमजोर देखिएको हात
भोलि बलियो स्तम्भ बन्न सक्छ।
आज चुप लागेको बालक
भोलि उज्यालो भविष्यको स्वर हुन सक्छ।
त्यसैले,
घमण्डले होइन,
करुणाले बोलौँ।
रिसले होइन,
मायाले सम्झाऔँ।
किनकि शब्दले भत्काउन पनि सक्छ,
र शब्दले नै संसार बनाउन पनि सक्छ।
- सुदर्शन
Comments
Post a Comment