माथिबाट हेर्दा नेपाल
एकचोटि माथिबाट हेरौँ न नेपाललाई
हिमाल, पहाड, तराई
तीन तहको एकै सपना जस्तो देखिन्छ।
सगरमाथा चुपचाप उभिएको छ,
कोशी नदी बगिरहेकी छ,
कसैले कसैलाई “मेरो” भनेको छैन।
तर तल झर्दा
सिमाना देखिन्छ,
पार्टी देखिन्छ,
झण्डा देखिन्छ,
र झण्डाभन्दा ठूलो अहंकार देखिन्छ।
नेपाल अहिले बाटो खोजिरहेको देश हो।
युवाहरू विमानस्थलमा लाइनमा छन्,
आमा–बाबु आँखा पुछ्दै छन्,
गाउँका घरमा ताल्चा छन्,
खेतबारी घाममै सुकिरहेका छन्।
काठमाडौँको सडकमा भाषण धेरै छ,
तर गाउँमा मल र बीउको अभाव छ।
नेता मञ्चमा ठूला कुरा गर्छन्,
जनता चियापसलमा देश बचाउँछन्।
तर देश!
देश त अझै पनि धैर्यले बाँचिरहेको छ।
हामीले धेरै क्रान्ति देख्यौँ,
व्यवस्था फेरियो,
नक्सा फेरिए,
नाम फेरिए
तर मन फेरिएन।
भ्रष्टाचार हाम्रो घाउ हो,
बेरोजगारी हाम्रो चिन्ता,
र आशा हाम्रो अन्तिम सम्पत्ति।
तैपनि,
यो देश निराश मात्र छैन।
विदेशबाट फर्किने सपनाहरू छन्,
स्टार्टअप सुरु गर्ने आँट छन्,
गाउँ फर्केर खेती गर्ने केही पागलहरू छन्।
र ती पागलहरू नै भविष्य हुन्।
हामीले प्रकृतिबाट धेरै पायौँ।
हिमालको उचाइ,
नदीको सहनशीलता,
पहाडको धैर्य।
तर हामीले प्रकृतिजस्तै हुन सकेनौँ।
अब समय छ
अरूलाई दोष दिनुभन्दा
आफूलाई सोध्ने,
“म नेपालका लागि के गर्न सक्छु?”
माथिबाट हेर्दा
नेपाल सानो देखिन्छ,
तर भित्र पसेपछि
यो अपार सम्भावनाको देश हो।
यदि हामीले
तेरो–मेरो छोडेर
हाम्रो भन्न सिक्यौँ भने,
यदि हामीले
देशलाई नेताको हातबाट निकालेर
आफ्नो जिम्मेवारीमा राख्यौँ भने,
सायद एक दिन
विदेश जाने लाइनभन्दा
गाउँ फर्किने लाइन लामो हुनेछ।
त्यस दिन
नेपाल केवल नक्सामा मात्र होइन,
हाम्रो चरित्रमा पनि उभिनेछ।
माथिबाट हेर्दा,
यो देश अझै पनि सुन्दर छ।
प्रश्न यति मात्र हो।
हामी सुन्दर हुन तयार छौँ कि छैनौँ?
- सुदर्शन
Comments
Post a Comment