नदी, सागर र जीवन
कहिल्यै सोच्नुभएको छ, नदी किन निरन्तर बगिरहन्छ र सागर किन शान्त देखिन्छ? नदीको यात्रा जन्मदेखि नै सुरु हुन्छ। हिमालको काखबाट निस्किएर ऊ हजारौँ मोड पार गर्छे, ढुङ्गा छिचोल्छे, पहाड काट्छे र निरन्तर अगाडि बढिरहन्छे। उसलाई कतै पुग्नु छ, केही प्राप्त गर्नु छ। त्यसैले ऊ कहिल्यै रोकिँदैन।
तर सागर फरक छ। ऊ विशाल छ, गहिरो छ र शान्त छ। उसलाई कतै पुग्नु छैन, किनकि सबै नदीहरूको अन्तिम गन्तव्य नै सागर हो। नदीले जुन ठाउँमा पुग्न आफ्नो सम्पूर्ण जीवन खर्च गरिरहेकी हुन्छे, सागर त्यहीँ पहिलेदेखि नै अवस्थित हुन्छ। त्यसैले उसमा हतार हुँदैन, बेचैनी हुँदैन।
मानिसको जीवन पनि नदी र सागरजस्तै छ। हामीमध्ये धेरैजना केही न केही खोजिरहेका हुन्छौँ! धन, पद, प्रतिष्ठा, सफलता वा खुसी। हामीलाई लाग्छ, यी सबै प्राप्त भएपछि मात्र जीवन पूर्ण हुनेछ। त्यसैले हामी निरन्तर दौडिरहेका हुन्छौँ। एउटा लक्ष्य पूरा भएपछि अर्को लक्ष्य देखिन्छ। एउटा चाहना पूरा भएपछि अर्को चाहना जन्मिन्छ। यसरी जीवन नदीझैँ बगिरहन्छ।
तर कहिलेकाहीँ हामीले आफैँलाई सोध्नुपर्छ, आखिर हामी के खोजिरहेका छौँ? के हामीले खोजेको शान्ति बाहिर कतै छ, वा त्यो हाम्रो आफ्नै मनभित्र लुकेको छ? जब मानिसले आफूलाई स्वीकार्न सिक्छ, आफ्नो अस्तित्वलाई बुझ्न थाल्छ र वर्तमान क्षणमा बाँच्न जान्छ, तब उसले आफ्नो भित्रको सागर भेट्न थाल्छ। त्यसपछि जीवनमा अनावश्यक दौड कम हुन्छ, तुलना हराउँछ र मनमा शान्ति जन्मिन्छ।
यसको अर्थ लक्ष्य नराख्नु वा प्रयास नगर्नु भनेको होइन। नदीको धर्म बग्नु हो, त्यसैले उसले बग्नैपर्छ। तर बग्दै गर्दा आफ्नो अस्तित्व बिर्सनु हुँदैन। त्यस्तै, मानिसले पनि सपना देख्नुपर्छ, मेहनत गर्नुपर्छ र अगाडि बढ्नुपर्छ। तर आफ्नो खुसी र शान्तिलाई भविष्यको कुनै गन्तव्यसँग मात्र बाँध्नु हुँदैन।
नदीले हामीलाई संघर्ष र यात्राको पाठ सिकाउँछ भने सागरले स्वीकार र पूर्णताको। जीवनको वास्तविक सुन्दरता पनि यही सन्तुलनमा छ! कर्म गरिरहनु, तर मनमा शान्ति राख्नु; अगाडि बढिरहनु, तर आफूलाई अधूरो नठान्नु।
किनकि अन्ततः सबैभन्दा ठूलो गन्तव्य कुनै ठाउँ होइन, आफ्नै भित्रको शान्ति हो। जब त्यो शान्ति भेटिन्छ, तब मनले भन्छ “अब कतै पुग्नु छैन, म आफैँमा पूर्ण छु।”
- सुदर्शन
असार २ २०२८३
Comments
Post a Comment