मनको सन्तुलन
परिस्थितिहरू सधैं
हामीले चाहेझैँ कहाँ हुन्छन् र?
कहिले समयले साथ छोड्छ,
कहिले आफ्नै मान्छेहरू टाढिन्छन्,
कहिले बाटो भएर पनि
गन्तव्य भेटिँदैन।
तर सायद
जीवनलाई बदल्ने शक्ति
परिस्थितिमा होइन,
हामीले त्यसलाई हेर्ने
आफ्नै आँखाभित्र लुकेको हुन्छ।
मन अशान्त हुँदा
शान्त घर पनि सुनसान लाग्छ,
मन थाकेको बेला
सजिलो बाटो पनि लामो लाग्छ।
तर मनले आफूलाई सम्हाल्न सिकेपछि,
उही दुःख
अनुभव बन्छ,
उही एक्लोपन
आत्मसंवाद बन्छ,
र उही अँध्यारो
बिहानीको प्रतीक्षा।
त्यसैले अब
हरेक आँधीसँग लड्नुपर्छ भन्ने छैन,
कहिलेकाहीँ
आँधीलाई जान दिनुपर्छ,
आफूभित्रको दीप निभ्न नदिई।
किनकि
परिस्थिति सधैं हाम्रो हातमा हुँदैन,
तर त्यसबीच
आफ्नो मनलाई कसरी राख्ने,
त्यो निर्णय
सायद हामीसँगै हुन्छ।
मन ठीक भयो भने
अभावमा पनि अर्थ भेटिन्छ,
हारमा पनि पाठ भेटिन्छ,
बिछोडमा पनि स्मृति बाँच्छ,
र जीवनका असन्तुलित पानाहरू
बिस्तारै आफैं मिल्दै जान्छन्।
अन्ततः
संसार बदलिनु आवश्यक रहेनछ,
आफ्नो मनमा उज्यालो बाँकी रहनु रहेछ।
मन शान्त भयो भने
परिस्थितिले पनि
आफ्नो भाषा बदल्दोरहेछ।
- सुदर्शन
Comments
Post a Comment