चाप अथवा दबाब
सामान्यतया, वायुमण्डलमा हुने उच्च र निम्न चापले मौसमको अवस्था, वर्षा हुने वा नहुने जस्ता प्रक्रियालाई प्रभावित गर्छ। जमिनमा पर्ने चाप र त्यसको वितरणका आधारमा कुनै पनि संरचनाको स्थायित्व र सन्तुलनको मूल्याङ्कन गरिन्छ।
गतिशील पृथ्वीमा पनि विभिन्न प्रकारका चाप क्रमिक रूपमा सञ्चित भइरहेका हुन्छन्। जब सञ्चित चापको सन्तुलन कुनै बिन्दुमा पुगेर भंग हुन्छ र ऊर्जा एक अवस्थाबाट अर्को अवस्थामा मुक्त हुन्छ, त्यसको एउटा अभिव्यक्ति भूकम्पका रूपमा देखिन्छ।
यसरी हेर्दा, हाम्रो ब्रह्माण्ड नै विभिन्न प्रकारका चाप र सन्तुलनबीच निरन्तर चलिरहेको एउटा विशाल प्रणाली जस्तो देखिन्छ।
त्यही ब्रह्माण्डको एउटा अत्यन्त सानो कणजति अस्तित्व बोकेर हामी मानिस पनि त्यही सन्तुलनको एउटा हिस्सा हौँ। हाम्रो शरीरभित्र पनि तरल पदार्थ, रक्तचाप, श्वासप्रश्वास, तापक्रम र अन्य जैविक प्रक्रियाहरू आफ्नै चाप र सन्तुलनमा चलिरहेका हुन्छन्। तर हामी आफूभित्र भइरहेका यी सूक्ष्म चाप र सन्तुलनलाई बुझ्न नसक्दा, वा बुझ्न नखोज्दा, त्यसको प्रभाव हाम्रो वरिपरिको वातावरणसम्म पुगिरहेको हुन्छ भन्ने कुरा कहिलेकाहीँ महसुस नै गर्दैनौँ।
चाप केवल भौतिक वस्तुमा मात्र हुँदैन। मानिसको विचार, भावना, सम्बन्ध र समाजमा पनि आफ्नै प्रकारका चाप हुन्छन्। एउटा व्यक्तिमा जम्मा भएको असन्तुलन उसको व्यवहारमार्फत परिवार, सम्बन्ध र समाजसम्म पुग्न सक्छ।
सायद त्यसैले “चाप” को कुरा व्यक्ति आफैँले भन्दा अरूले बढी महसुस गर्छन्।
हामीले केवल बाहिरको चापलाई होइन, आफूभित्र रहेको चापलाई पनि बुझ्न आवश्यक छ। हामीसँग भएका र हाम्रो वरिपरि रहेका विभिन्न प्रकारका चाप, तिनको दिशा, परिमाण र सन्तुलनको अवस्थालाई बुझ्न सक्यौँ भने मात्र हामी आफू र आफ्नो वातावरणबीचको सम्बन्धलाई अझ गहिरो रूपमा बुझ्न सक्छौँ।
अन्ततःजीवन पनि सायद चाप र सन्तुलनबीच निरन्तर चलिरहेको एउटा प्रक्रिया हो।
Comments
Post a Comment