Skip to main content

फुटेर होइन, जुटेर मात्र नेपाल बलियो हुन्छ।


फुटेर होइन, जुटेर मात्र नेपाल बलियो हुन्छ।

नेपाल एउटा सुन्दर देश हो, जहाँ विविधतामै एकता पाइन्थ्यो। हिमाल, पहाड र तराईका बासिन्दा एउटै माटोका सन्तान हुन् भन्ने गर्व थियो। तर आज त्यो एकता धमिलिँदै गएको छ। जुन जुन कुराले नेपाली समाजलाई जोड्थ्यो, त्यही कुरामाथि अहिले विवाद र विभाजन सुरु भएको छ।

पहिले दशैं र तिहार सबैको साझा चाड थियो। धर्म, जात र भाषा भन्दा माथि उठेर सबै नेपालीले एकै भावना बाँड्थे। अहिले भने ती चाडहरूलाई पनि फरक दृष्टिले हेरिन्छ। कोही भन्छ  “यो मेरो चाड होइन,” कोही भन्छ  “यो अर्काको संस्कार हो।” यसरी जसले हामीलाई एक बनाउँथ्यो, त्यही चिज विवादको कारण बन्दै गएको छ।

त्यस्तै, राजसंस्था हाम्रो राष्ट्रिय पहिचान थियो, जसले नेपालको अस्तित्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको थियो। आज त्यो पनि विवादको विषय बनाइएको छ। समर्थक र विरोधीको नाममा नेपालीबीच दूरी बढाइएको छ। नेताहरूको स्वार्थ र कुर्सीको खेलले देशलाई झन् कमजोर बनाइरहेको छ।

हिमालदेखि तराईसम्म फैलिएको पाँच विकास क्षेत्रले देशलाई सन्तुलित बनाएको थियो। तर अहिले भौगोलिक र जातीय विभाजनका नाममा त्यही सन्तुलन भत्किएको छ। एक अर्काप्रति शंका र अविश्वास बढ्दै गएको छ।

नेपालको साझा भाषा  नेपाली अब आक्रमणमा परेको छ। आफ्नै भाषालाई हेप्ने र विदेशी भाषालाई ठूलो ठान्ने प्रवृत्ति बढ्दै गएको छ। इतिहासका पानामा लेखिएका नेपाली वीरताको कथा अहिले विकृत पारिँदै छन्। हाम्रो गौरवशाली इतिहासलाई कमजोर बनाउने प्रयास भइरहेको छ।

युवाहरूको हृदयमा देशप्रेम अझै बाँकी छ, तर अवसर र भरोसा हराएको छ। यही कारण उनीहरू बिदेश पलायन भइरहेका छन्। खेतबारी बाँझा छन्, गाउँमा बुढाबुढी मात्र बाँकी छन्, र देशको भविष्य विदेशका गल्लीमा पसिनामा पोखिँदैछ।

अब समय आएको छ ! हामीले प्रश्न गर्नुपर्छ, “किन यस्तो हुँदैछ?” दोषी केवल एक जना होइन, दोष हाम्रो सोचमा, हाम्रो मौनतामा र हाम्रो उदासिनतामा पनि छ। हामीले जुन देशका लागि पुर्खाले बलिदान दिए, त्यस देशलाई विभाजन र निराशाले ग्रसित बनाउन हामीले दिनुहुँदैन।

नेपाल हाम्रो घर हो। यहाँका सबै भाषा, धर्म, जात र संस्कृति हाम्रो सम्पत्ति हुन्। हामीले मिलेरै यसलाई जोगाउन सक्छौं। अब आरोप र विभाजन होइन, सहकार्य र माया चाहिन्छ। हरेक नेपालीले आफ्नो ठाउँबाट सानो प्रयास गरे पनि देशमा ठूलो परिवर्तन सम्भव छ।

हामी सबै नेपाली हौं ! यही हाम्रो पहिचान, यही हाम्रो गर्व हो। फुटेर होइन, जुटेर मात्र नेपाल बलियो हुन्छ।

- सुदर्शन सापकोटा 
२०-०७-२५
समुन्द्र पारि- परदेश बाट।

Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ नेपाल अहिले तीव्र पूर्वाधार विकासको चरणमा प्रवेश गरेको छ। देशभरि राजमार्ग विस्तार, सुरुङ मार्ग निर्माण, जलविद्युत् आयोजना, र ठूला बाँधहरू निर्माण भइरहेका छन्। नागढुंगा–नौबिसे सुरुङदेखि लिएर विभिन्न हाइड्रोपावरका हेडरेस टनेलहरू, पहाडी सडक विस्तार, र नदी नियन्त्रणका कामहरूले विकासको नयाँ गति देखाइरहेका छन्। यति मात्र होइन, नेपालका विश्वविद्यालयहरूमा Engineering Geology जस्तो विशिष्ट विषयको अध्ययनसमेत सुरु भइसकेको छ, जसले भूगर्भ र इन्जिनियरिङबीचको सम्बन्धलाई शैक्षिक रूपमा मजबुत बनाउने प्रयास गरेको छ। तर यति सकारात्मक प्रगति हुँदाहुँदै पनि एउटा मूल प्रश्न अझै उस्तै छ, भूगर्भविद्हरू किन अझै परियोजनाको नेतृत्वमा देखिँदैनन्? नेपालको भौगोलिक बनावट विश्वमै सबैभन्दा जटिलमध्ये एक मानिन्छ। हिमालय क्षेत्रको सक्रिय टेक्टोनिक गतिविधि, कमजोर चट्टान संरचना, उच्च वर्षा, र तीव्र ढलानले यहाँको भूगर्भलाई अत्यन्त संवेदनशील बनाएको छ। यही कारणले गर्दा यहाँका इन्जिनियरिङ परियोजनाहरू केवल डिजाइनको विषय मात्र होइन, भूगर्भीय जोखिमसँग प्रत्यक्ष जुध्ने प...

हाम्रो आँखाको व्यस्तता र मस्तिष्कको मौनता

बिहान आँखा खुलेदेखि नै हाम्रो दिन हेरेर सुरु हुन्छ। मोबाइलमा समय हेर्‍यौँ, समाचार पढ्यौँ, सामाजिक सञ्जाल खोल्यौँ। काममा पुगेपछि कम्प्युटर हेर्‍यौँ। फुर्सद भयो फेरि मोबाइल हेर्‍यौँ। राति सुत्नुअघि पनि मोबाइल नै अन्तिम साथी बन्छ। आँखाले दिनभरि धेरै कुरा देखिरहेका छन्। तर देखेको कुरा बुझ्ने र त्यसबाट आफ्नो विचार बनाउने काम त मस्तिष्कले गर्छ। त्यसैले आजको प्रश्न आँखाको थकानको मात्र होइन, हाम्रो मस्तिष्कले कति समय स्वतन्त्र रूपमा सोच्न पाइरहेको छ भन्ने पनि हो। हामीसँग सूचना पहिलेभन्दा धेरै छ, तर आफ्नै विचारका लागि समय भने कम हुँदै गएको त छैन? सूचनाको यो बाढीले हाम्रो सोच्ने शैली पनि बदलिरहेको छ। एउटा कुरा पढ्न नपाउँदै अर्को सूचना आउँछ। एउटा भिडियो सकिन नपाउँदै अर्को सुरु हुन्छ। हामी एउटा विषयमा गहिरिनुभन्दा अर्को विषयमा छिटो पुग्न अभ्यस्त हुँदै गएका छौँ। कहिलेकाहीँ केही समय चुपचाप बस्दा पनि मोबाइल निकालिहाल्छौँ। तर मस्तिष्कलाई पनि केही खाली समय चाहिन्छ। त्यही समयमा मानिसले देखेका र सुनेका कुरालाई सम्झन्छ, जोड्छ र आफ्नै निष्कर्ष निकाल्छ। सायद आज हामीलाई सूचनाको अभावभन्दा पनि सूचनाबीच सोच्ने ...