नेपाल एउटा सुन्दर देश हो, जहाँ विविधतामै एकता पाइन्थ्यो। हिमाल, पहाड र तराईका बासिन्दा एउटै माटोका सन्तान हुन् भन्ने गर्व थियो। तर आज त्यो एकता धमिलिँदै गएको छ। जुन जुन कुराले नेपाली समाजलाई जोड्थ्यो, त्यही कुरामाथि अहिले विवाद र विभाजन सुरु भएको छ।
पहिले दशैं र तिहार सबैको साझा चाड थियो। धर्म, जात र भाषा भन्दा माथि उठेर सबै नेपालीले एकै भावना बाँड्थे। अहिले भने ती चाडहरूलाई पनि फरक दृष्टिले हेरिन्छ। कोही भन्छ “यो मेरो चाड होइन,” कोही भन्छ “यो अर्काको संस्कार हो।” यसरी जसले हामीलाई एक बनाउँथ्यो, त्यही चिज विवादको कारण बन्दै गएको छ।
त्यस्तै, राजसंस्था हाम्रो राष्ट्रिय पहिचान थियो, जसले नेपालको अस्तित्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको थियो। आज त्यो पनि विवादको विषय बनाइएको छ। समर्थक र विरोधीको नाममा नेपालीबीच दूरी बढाइएको छ। नेताहरूको स्वार्थ र कुर्सीको खेलले देशलाई झन् कमजोर बनाइरहेको छ।
हिमालदेखि तराईसम्म फैलिएको पाँच विकास क्षेत्रले देशलाई सन्तुलित बनाएको थियो। तर अहिले भौगोलिक र जातीय विभाजनका नाममा त्यही सन्तुलन भत्किएको छ। एक अर्काप्रति शंका र अविश्वास बढ्दै गएको छ।
नेपालको साझा भाषा नेपाली अब आक्रमणमा परेको छ। आफ्नै भाषालाई हेप्ने र विदेशी भाषालाई ठूलो ठान्ने प्रवृत्ति बढ्दै गएको छ। इतिहासका पानामा लेखिएका नेपाली वीरताको कथा अहिले विकृत पारिँदै छन्। हाम्रो गौरवशाली इतिहासलाई कमजोर बनाउने प्रयास भइरहेको छ।
युवाहरूको हृदयमा देशप्रेम अझै बाँकी छ, तर अवसर र भरोसा हराएको छ। यही कारण उनीहरू बिदेश पलायन भइरहेका छन्। खेतबारी बाँझा छन्, गाउँमा बुढाबुढी मात्र बाँकी छन्, र देशको भविष्य विदेशका गल्लीमा पसिनामा पोखिँदैछ।
अब समय आएको छ ! हामीले प्रश्न गर्नुपर्छ, “किन यस्तो हुँदैछ?” दोषी केवल एक जना होइन, दोष हाम्रो सोचमा, हाम्रो मौनतामा र हाम्रो उदासिनतामा पनि छ। हामीले जुन देशका लागि पुर्खाले बलिदान दिए, त्यस देशलाई विभाजन र निराशाले ग्रसित बनाउन हामीले दिनुहुँदैन।
नेपाल हाम्रो घर हो। यहाँका सबै भाषा, धर्म, जात र संस्कृति हाम्रो सम्पत्ति हुन्। हामीले मिलेरै यसलाई जोगाउन सक्छौं। अब आरोप र विभाजन होइन, सहकार्य र माया चाहिन्छ। हरेक नेपालीले आफ्नो ठाउँबाट सानो प्रयास गरे पनि देशमा ठूलो परिवर्तन सम्भव छ।
हामी सबै नेपाली हौं ! यही हाम्रो पहिचान, यही हाम्रो गर्व हो। फुटेर होइन, जुटेर मात्र नेपाल बलियो हुन्छ।
- सुदर्शन सापकोटा
२०-०७-२५
समुन्द्र पारि- परदेश बाट।
Comments
Post a Comment