इतिहासबिनाको भविष्य हुँदैन।
सूर्यबाट छुट्टिएर पनि पृथ्वीले आफ्नो इतिहास बिर्सेको छैन। आफ्नै जननी सूर्य को वरिपरि घुमिरहेछ। यही स्मृतिले आज पृथ्वीमा कहिले उज्यालो त कहिले अँध्यारो ल्याएको छ, र हामीले जीवनलाई निरन्तरता दिन सकेका छौँ। पृथ्वीबाट छुट्टिएको चन्द्रमाले पनि आफ्नै जननी वरिपरि घुम्दै आफ्नो अस्तित्व प्रमाणित गरिरहेको छ। यहाँ जननी भनेको केवल जन्मदाता होइन इतिहास हो, जरा हो, पहिचान हो। यसबाट एउटा सत्य स्पष्ट हुन्छ इतिहास बिर्सने चिज धेरै समय टिक्दैन।
अब यही सत्यलाई नेपालको वर्तमान परिस्थितिसँग जोडेर हेरौँ। आज म जुन माटोमा जन्मिएर उभिएको छु, र गर्वका साथ “म नेपाली हुँ” भन्छु, के यो केवल जन्मको संयोग हो? होइन। यो हजारौँ बलिदान, संघर्ष, त्याग र दूरदर्शिताको परिणाम हो। आफूलाई नेपाली भन्न पाउँदा गर्व लाग्नुको कारण यही इतिहास हो जो रगत, पसिना र साहसले लेखिएको छ।
यदि पृथ्वीनारायण शाह जन्मिएका नै नहुने भए, यदि बहादुर शाह, भीमसेन थापा, भक्त थापा र असंख्य ज्ञात–अज्ञात सहिदहरूले यो माटोलाई आफ्नो प्राणभन्दा प्यारो नठानेका भए, आज नेपाल रहन्थ्यो त? सायद रहँदैनथ्यो।नेपाल नभएपछि “नेपाली” भन्ने पहिचान पनि हुने थिएन।
तर आजको विडम्बना के हो भने हामी इतिहासको फल खाइरहेका छौँ, तर जरालाई बिर्सँदै छौँ। वर्तमान नेपाल राजनीतिक अस्थिरता, दिशाहीन विकास, युवाको विदेश पलायन र नैतिक मूल्यको क्षयले ग्रसित छ। हामी समस्याको दोष सधैँ अरूलाई दिन्छौँ नेताहरूलाई, व्यवस्थालाई, परिस्थितिलाई। तर इतिहासबाट सिक्ने साहस हामीमा कति बाँकी छ?इतिहास केवल पाठ्यपुस्तकको विषय होइन, इतिहास चेतावनी हो, इतिहास मार्गदर्शन हो। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा केवल भूगोल जोडेका थिएनन्, उनले स्वाभिमान, आत्मनिर्भरता र राष्ट्रिय एकता को दर्शन दिएका थिए। आज हामी त्यही एकतालाई जात, दल, विचार र स्वार्थमा विभाजित गरिरहेका छौँ। यो विभाजन इतिहाससँगको विश्वासघात हो।
हामिलाइ विकास चाहिन्छ। लोकतन्त्र चाहिन्छ। तर इतिहासको जगबिनाको विकास खोक्रो हुन्छ, र इतिहासको सम्मानबिनाको लोकतन्त्र दिशाहीन हुन्छ।आजको नेपाललाई अब नयाँ क्रान्ति होइन, ऐतिहासिक चेतनाको पुनर्जागरण चाहिएको छ। युवाले देश छोड्नु अघि एकपटक सोचून यो, देश कसरी बनेको हो? नेताले सत्ता खोज्नु अघि सम्झिउन् यो सत्ता कसको बलिदानले सम्भव भएको हो? र नागरिकले आलोचना गर्नु अघि आत्ममन्थन गरून् हामिले इतिहासबाट के सिक्यौँ? एउटा नेपाली भएर इतिहासलाई सम्मान नगरी म पूर्ण नेपाली हुन सक्दिन। नेपाल एकीकरणका नायकहरूलाई सम्झिनु कुनै राजनीतिक पक्षपात होइन।यो राष्ट्रिय कर्तव्य हो।
यसै चेतनासँग, पृथ्वी जयन्तीको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। इतिहास सम्झिऔँ, वर्तमान सच्याऔँ, र भविष्य निर्माण गरौँ।
- सुदर्शन सापकोटा
पुस २७
Comments
Post a Comment