भोट गरौ- सहि मानिसलाइ
म यहाँ बहस गर्न आएको होइन,
न त कसैलाई जिताउन, कसैलाई हराउन।
तर केही प्रश्न छन्,
जसले निदाएको विवेक झकझक्याउँछन्।
तिमी भन्छौ
आन्दोलन शान्त थियो।
तर विद्यालयका नानीहरू
किन अगाडि उभिए?
नारा लगाउन नसक्ने हातमा
झण्डा कसले थमायो?
संसारभर एउटै नियम छ
आगो बल्यो भने निभाइन्छ,
तोडफोड भयो भने रोक लगाइन्छ।
त्यो अन्याय हो कि कर्तव्य?
शान्ति भन्दै सुरु भएको बाटो
अचानक हिंसामा कसरी मोडियो?
आफैं चिप्लियो आन्दोलन
कि कसैले धकेल्यो?
प्रहरी ढले, हतियार खोसिए
यी कुरा किन फुसफुसमा हराए?
सत्य यति तितो छ
कि सुन्नै नसकिने भयो?
नेताको जेल, कागज, पैसा
यी प्रश्न उठाउनु अपराध हो?
कि सत्ता बदलिँदा
सबै पाप पखालिन्छ?
भाषणले देश बन्छ भन्छौ,
तर समय र परिणामको हिसाब
कसले गर्छ?
रंगरोगनले
घाउ निको हुँदैन।
आन्दोलनपछि मन्त्रीहरू
किन त्यहाँ पुगे?
देश बनाउन
कि चुनावी कथा लेख्न?
दल, नेता, छिमेकी, शक्ति
सबैको चासो किन यहाँ जोडिन्छ?
सीमाना बोल्दैन,
व्यापारिक बाटो मौन छ,
विदेशी सम्झौता
हामीलाई सोधिँदैन।
भारत, अमेरिका, MCC
सबैको छाया किन यति गहिरो?
हामी नागरिक
किन सधैं मोहरा मात्र?
नयाँ पुरानाहरु धेरै छ्न अहिले,
नाम धेरै छन्,
तर प्रश्न एउटै छ
देश कसका लागि चल्दैछ?
हामीलाई भ्रममा राखेर
खेल त भइरहेको छैन?
अब सोच्ने बेला हो।
देश नारा होइन,
निर्णयले बदलिन्छ।
र निर्णय गर्ने शक्ति
अन्ततः
तिम्रो हातमै छ।
भोट तिम्रो हो।
देश जोगाउने
कि भ्रम रोज्ने
फैसला पनि
तिम्रै हो।
भोट तपाईको हो
लहैलहैमा लागेर होइन,
गहिरो सोचेर
सहि मानिसमा
भोट्गरौ।
Comments
Post a Comment