खुसीको कुरा
खुसी हाम्रो प्राकृतिक अवस्था हो।
दुःखी हुन कारण चाहिन्छ,
खुसी हुन चाहिँ कारण नै चाहिँदैन।
भोक लाग्नु सामान्य कुरा हो,
त्यो शरीरले दिएको संकेत हो।
तर खान नपाउनु पीडा हो।
प्यास लाग्नु स्वाभाविक हो,
तर पानी नपाउनु दुःख हो।
भोक लागेको बेला
हामीलाई स्वाद चाहिँदैन,
केवल खाना चाहिन्छ।
तिर्खा लागेको बेला
हामीलाई रसिलो पेय होइन,
केवल पानी चाहिन्छ।
तर जब हामी
हरेक कुरामा स्वाद खोज्न थाल्छौँ,
त्यहीँबाट दुःख सुरु हुन्छ।
स्वादले दिने आनन्द क्षणिक हुन्छ।
त्यो केही बेर रहन्छ,
र फेरि हराउँछ।
तर हाम्रो मनले
त्यही आनन्द फेरि–फेरि खोजिरहन्छ।
त्यो बिस्तारै नशा बन्छ।
त्यसपछि हामी
भोकको सच्चा अर्थ बिर्सन्छौँ,
प्यासको अर्थ बिर्सन्छौँ,
र जीवनको सरलता बिर्सन्छौँ।
एक बच्चाजस्तै बाँच्न सिकौँ।
बच्चालाई खुसी हुन कारण चाहिँदैन।
उ सानो कुरामै हाँस्छ,
सानो कुरामै रमाउँछ।
हामी भने भन्छौँ,
“यो भएपछि खुसी हुन्छु।”
“त्यो पाएपछि रमाउँछु।”
यस्तै भन्दै–भन्दै
जीवन बित्छ।
सत्य यत्ति हो,
अहिले, यही क्षणमै
तपाईं खुसी हुन सक्नुहुन्छ।
तर यदि कारण खोज्न थाल्नुभयो भने,
खुसी सधैँ टाढा जान्छ।
खुसी कुनै उपलब्धि होइन,
यो त अवस्था हो!
जसलाई सम्झनु मात्र पर्छ।
- सुदर्शन
Comments
Post a Comment