कहिलेकाहीँ लाग्छ,
हामी नेपालमा विकास खोज्दा
आफ्नो आँखाले भन्दा
अरूको आँखाले धेरै हेर्न थालेका छौँ।
विकसित देशमा जे छ,
त्यही हामीकहाँ आएपछि
विकास भयो भन्ने सोच्न थालेका छौँ।
एउटा गोठालोलाई सम्झौँ।
गाई–गोरुलाई स्याउला काट्न
वनको रुखमा चढेको गोठालोसँग मोबाइल छ।
उसले मोबाइलबाट आमालाई भन्छ,
“खाजा ल्याइदिनू।”
मोबाइल उसको हातमा आयो,
तर उसको अवस्था बदलिएन।
सुविधा थपियो, तर जीवन अघि बढेन।
हाम्रो विकास पनि कतै त्यस्तै त भइरहेको छैन?
हातमा मोबाइल छ,
इन्टरनेट छ,
चौडा सडक छ,
ठूला भवन छन्।
तर गाउँमा काम छैन,
किसानको उत्पादनले मूल्य पाउँदैन,
र युवाको भविष्य अझै विदेशमै खोज्नुपर्छ।
कुनै सुविधा मानिससम्म पुग्नु र
मानिसको जीवन अघि बढ्नु एउटै कुरा होइन।
हामीलाई अरूले बनाएको विकासको नक्कल मात्र होइन,
आफ्नो माटो, आफ्नो आवश्यकता
र आफ्नै सम्भावनाबाट
मानिसको जीवन अघि बढाउने विकास चाहिन्छ।
नत्र,
हातमा मोबाइल त हुनेछ,
तर गोठालो अझै रुखमै हुनेछ।
Comments
Post a Comment